मर्दी हिमाल पदयात्रामा गएका पोखराका ३ युवक सम्पर्कविहीन, खोजी तीव्र

User Image Prime TV News २ घण्टा अगाडि
Image of मर्दी हिमाल पदयात्रामा गएका पोखराका ३ युवक सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौ । कास्कीको चर्चित पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन भएका छन्।

उनीहरू माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा क्षेत्रको जंगलबाट सम्पर्कविहीन भएका हुन्। प्रहरीका अनुसार बाटो बिराएर उनीहरू जंगल क्षेत्रमा अलपत्र परेको हुन सक्ने आशंका गरिएको छ। कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानका अनुसार उनीहरू बुधबार बिहान करिब ८ बजेसम्म सम्पर्कमा थिए।

त्यसपछि उनीहरूको मोबाइल बन्द भएको र सम्पर्क हुन नसकेको हो। “बिहान ८ बजेतिर सम्पर्क भएको थियो, त्यसपछि सम्पर्क हुन सकेको छैन। उक्त क्षेत्रमा नेटवर्कको समस्या हुने भएकाले लोकेसन पत्ता लगाउन कठिन भइरहेको छ,” डीएसपी पासवानले बताए।

सम्पर्कविहीन हुनेमा पोखरा–१४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ रहेका छन्। उनीहरू हराएको सूचना बुधबार बिहान ११ बजे प्राप्त भएपछि तत्काल प्रहरी टोली खोजीका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीसँगै स्थानीय व्यवसायीहरूको टोली पनि खोजी अभियानमा सहभागी भएको छ। जंगल क्षेत्र र पदमार्ग आसपासमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।