रास्वपाले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन उम्मेदवार छनोटको नयाँ मापदण्ड

User Image Prime TV News २ घण्टा अगाडि
Image of रास्वपाले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन उम्मेदवार छनोटको नयाँ मापदण्ड

काठमाडौ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा सार्वजनिक गरेको छ।

निर्वाचन आउन करिब आठ महिना बाँकी रहँदा पार्टीले वैज्ञानिक र वस्तुपरक प्रणालीमार्फत योग्य नेतृत्व चयन गर्ने उद्देश्यसहित ‘क्यान्डिडेट क्लब’ र उम्मेदवार छनोट कार्यविधि सार्वजनिक गरेको हो।

आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशभरका ३५ हजार २२१ पदका लागि उम्मेदवार चयन गर्नुपर्ने भएकाले रास्वपाले प्रारम्भिक आवेदनदेखि अन्तिम छनोटसम्मका विभिन्न चरण तय गरेको जनाएको छ।

रास्वपाको रूपरेखाअनुसार मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदका आकांक्षीले अनिवार्य रूपमा क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। पार्टीले दुई प्रकारका क्लब बनाएको छ–पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्लब।

क्लबमा आवेदन दिन कानुनी योग्यता पुगेको, रास्वपाको साधारण सदस्य रहेको तथा पार्टीको विचार, सिद्धान्त र नीतिलाई समर्थन गर्ने व्यक्ति हुनुपर्नेछ। आवेदनकर्ताले घरेलु हिंसा, यौन दुर्व्यवहार, साइबर बुलिङलगायतका विषयमा संलग्न नरहेको, वैवाहिक अवस्था स्पष्ट रहेको र आफूविरुद्ध कुनै कानुनी मुद्दा भए/नभएको विषयमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।

रास्वपाले उम्मेदवार छनोटका लागि चार चरणको मूल्यांकन प्रणाली बनाएको छ। जसमा ‘लिडरसिप एकेडेमी’लाई २५ प्रतिशत, ‘पोलिटिकल प्रोक्सिमिटी’लाई २५ प्रतिशत, समावेशी सम्बोधनलाई १० प्रतिशत र पार्टीको आन्तरिक निर्वाचनलाई ४० प्रतिशत भारांक दिइएको छ।

लिडरसिप एकेडेमीमा सहभागी भएर परीक्षणमा सफल भएकाहरू मात्रै अर्को चरणमा प्रवेश गर्नेछन्। त्यसपछि संगठनात्मक आबद्धता, चुनाव जित्ने सम्भावना, जनसम्बन्ध, लोकप्रियता, आचरण र सामाजिक परीक्षणका आधारमा उम्मेदवारको मूल्यांकन गरिनेछ।

समावेशीतर्फ संविधानको समानुपातिक समावेशी सिद्धान्तलाई आधार बनाउँदै १० प्रतिशत अंक छुट्याइएको छ। तर यसअघि सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख/उपप्रमुख, मन्त्री वा उच्च राजनीतिक तथा कूटनीतिक जिम्मेवारी पाइसकेका व्यक्तिले यस शीर्षकमा अंक नपाउने व्यवस्था गरिएको छ।

पार्टीको आन्तरिक निर्वाचनलाई सबैभन्दा बढी ४० प्रतिशत भारांक दिइएको छ। यसअन्तर्गत क्रियाशील मतदाता मण्डललाई ७५ प्रतिशत, मध्यवर्ती सांगठनिक मतदाता मण्डललाई १५ प्रतिशत र विशिष्ट मतदाता मण्डललाई १० प्रतिशत भारांक दिइनेछ।

उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्न केन्द्रीय पदाधिकारीको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिने रास्वपाले जनाएको छ। रूपरेखामा आर्थिक लेनदेन, चलखेल, मतदानमा धाँधली, गुटबन्दी, दुष्प्रचार र चरित्र हत्याजस्ता गतिविधिलाई गम्भीर अनुशासनहीनता मानेर कारबाही गर्ने व्यवस्था गरिएको छ।

यद्यपि असाधारण परिस्थिति उत्पन्न भए नियमित प्रक्रियाभन्दा बाहिर गएर उम्मेदवार छनोट गर्न सकिने व्यवस्था पनि राखिएको छ। त्यसका लागि केन्द्रीय समितिको दुईतिहाइ बहुमतबाट निर्णय पारित गर्नुपर्नेछ।