ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका निम्सदाइ सहित चार नेपाली पर्वतारोहीको शव आधार शिविरमा ल्याइयो
Prime TV News ४७ मिनेट अगाडि 
काठमाडौ । पाकिस्तानस्थित ब्रड पिकमा आएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित चार जनाको शव सफलतापूर्वक उद्धार गरी आधार शिविरमा ल्याइएको छ।
एलिट एक्स्पेडका अनुसार निम्सदाइ, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्त कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि सुरक्षित रूपमा आधार शिविर पुर्याइएको हो। उद्धार अभियानको नेतृत्व मिङ्मा डेभिड शेर्पाले गरेका थिए।
कम्पनीका अनुसार सिरबाज खानसहितको उद्धार टोलीले उच्च जोखिमका बीच असाधारण साहस, व्यावसायिकता र समर्पणका साथ अभियान सम्पन्न गरेको हो। उद्धार कार्य सफल बनाउन सहयोग पुर्याएको भन्दै एलिट एक्स्पेडले पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अन्य सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ।
कम्पनीले निम्सदाइको शव स्वदेश फर्काउनु केवल एक पर्वतारोहीको उद्धार नभई एक पति, पिता, छोरा, दाजुभाइ, साथी तथा एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, निम्सदाइ स्टोर र स्काइडाइभ निम्सदाइ परिवारको केन्द्रबिन्दुलाई घर फर्काउने प्रयास भएको उल्लेख गरेको छ।
कम्पनीका अनुसार चारै पर्वतारोहीको शव आधार शिविरमा ल्याइएकाले अब उनीहरूको अन्तिम यात्रा परिवारसम्म पुग्ने प्रक्रिया सुरु हुने भएको छ। साथै अझै बेपत्ता रहेका अन्य तीन आरोहीका परिवारप्रति समवेदना व्यक्त गर्दै मौसम र सुरक्षा अनुकूल भएपछि खोजी तथा उद्धारका लागि सम्भव सबै प्रयास जारी रहने प्रतिबद्धता पनि जनाएको छ।
गत बिहीबार ब्रड पिकमा आएको भीषण हिमपहिरोमा १० पर्वतारोही बेपत्ता भएका थिए। घटनामा बेपत्ता भएका सबैको मृत्यु भएको पुष्टि भइसकेको छ।






