अवैध लिग खेलेको आरोपमा पूर्व क्रिकेटरमाथि कारबाही गर्ने तयारीमा पाकिस्तान क्रिकेट बोर्ड
Prime TV News ४१ मिनेट अगाडि 
काठमाडौ । पाकिस्तान क्रिकेट बोर्डले जाम्बियामा भइरहेको ‘एशियन लेजेन्ड्स लिग’ मा सहभागी भएका आफ्ना पूर्व क्रिकेटरहरूमाथि कडा कारबाही गर्ने तयारी गरेको छ।
जाम्बिया क्रिकेट युनियनले उक्त प्रतियोगिता आफूले मान्यता नदिएको र अवैध रहेको जनाएकोपछि पिसिबीले यस्तो निर्णय लिएको हो। पिसिबीका अनुसार बोर्डको अनुमति नलिई प्रतियोगितामा सहभागी भएका खेलाडीलाई आगामी दुई वर्षसम्म कुनै पनि विदेशी लिग खेल्न आवश्यक पर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्रदान गरिने छैन।
साथै उनीहरू दुई वर्षसम्म पिसिबी वा पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत प्रशिक्षक, सल्लाहकार, मेन्टर वा अन्य कुनै आधिकारिक भूमिकाका लागि पनि अयोग्य हुनेछन्। गत जुलाई ३० देखि सुरु भएको एशियन लेजेन्ड्स लिगमा ‘पाकिस्तान प्यान्थर्स’सहित भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एशियन स्टार्स गरी ६ टोली सहभागी छन्।
पाकिस्तान प्यान्थर्स टोलीमा अधिकांश पूर्व पाकिस्तानी राष्ट्रिय क्रिकेटर रहेका छन्। मोहम्मद हफिज, सोहेल तनवीर र उमर अकमल प्रतियोगितामा सहभागी हुन जाम्बिया पुगेका थिए। तर प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अनुमति नलिएको जानकारी पाएपछि उनीहरूले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए।
यद्यपि शोएब मलिक, कामरान अकमल, शर्जिल खान, इमरान नाजिर, सईद अजमल, यासिर शाह, मोहम्मद इरफान र हसन राजासहित अन्य पूर्व खेलाडी भने प्रतियोगितामा सहभागी भएका छन्। एशियन लेजेन्ड्स लिगमा सहभागी खेलाडीमाथि अनुशासनात्मक कारबाहीको चेतावनी दिने क्रिकेट बोर्डहरूमध्ये पाकिस्तान क्रिकेट बोर्ड पहिलो बनेको छ।






