आईसीसीले २०२७ विश्वकप छनोटको मिति तय गर्‍यो, नेपालको यात्रा प्लेअफबाट हुने

User Image Prime TV News एक घण्टा अगाडि
Image of आईसीसीले २०२७ विश्वकप छनोटको मिति तय गर्‍यो, नेपालको यात्रा प्लेअफबाट हुने

काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मिति सार्वजनिक गरेको छ।

प्रतियोगिता सन् २०२७ फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुनेछ। यद्यपि, प्रतियोगिताको आयोजना हुने स्थान भने अझै तय गरिएको छैन। आईसीसीले लागू गरेको नयाँ विश्वकप ढाँचाअनुसार १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेता टोलीले सिधै १४ टोली सहभागी हुने विश्वकपमा स्थान बनाउनेछ।

दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले विश्वकपको पहिलो चरण (सुपर सिरिज) खेल्नेछन्, जहाँबाट उत्कृष्ट टोलीहरू मुख्य १२ टोलीको चरणमा प्रवेश गर्नेछन्। सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा अक्टोबर ४ देखि नोभेम्बर ११ सम्म आयोजना हुनेछ। प्रतियोगिताका खेलहरू तीन देशका १२ वटा रंगशालामा हुनेछन्।

छनोट प्रतियोगितामा कसरी पुग्छन् टोलीहरू?

१० टोली सहभागी हुने छनोट प्रतियोगितामा सेप्टेम्बर ३०, २०२६ सम्मको ओडीआई वरीयतामा रहेका आयोजक दक्षिण अफ्रिका र जिम्बावेबाहेकका दुई तल्लो स्थानका पूर्ण सदस्य राष्ट्र, आईसीसी क्रिकेट विश्वकप लिग–२ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफका शीर्ष चार टोलीले स्थान बनाउनेछन्।

प्लेअफमा लिग–२ का तल्लो चार टोलीसँगै च्यालेन्ज लिगका चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। च्यालेन्ज लिगमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ, जहाँ प्रत्येक समूहका शीर्ष दुई टोली प्लेअफमा पुग्नेछन्।

नेपालको अवस्था कस्तो?

नेपाल हाल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा प्रतिस्पर्धा गरिरहेको छ। ३२ खेलबाट ११ जितसहित २४ अंक जोडेको नेपाल हाल छैटौँ स्थानमा छ। शीर्ष चारभित्र परेर सिधै विश्वकप छनोट प्रतियोगितामा पुग्ने नेपालको सम्भावना समाप्त भइसकेको छ।

नेदरल्यान्ड्स भ्रमणमा लगातार हार बेहोरेपछि नेपाल लिग–२ का तल्लो चार टोलीमध्ये पर्ने निश्चित भएको छ। त्यसैले अब नेपालले विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा शीर्ष चारभित्र पर्न सके मात्र नेपालले सन् २०२७ फेब्रुअरी–मार्चमा हुने १० टोलीको मुख्य विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछ।

नेपालका लागि अब बाँकी खेलहरूमा सकारात्मक नतिजा निकाल्दै प्लेअफमा बलियो प्रदर्शन गर्नु र त्यहाँबाट विश्वकप छनोट प्रतियोगितासम्म पुग्नु नै प्रमुख लक्ष्य हुनेछ।