कांग्रेस एकताका लागि युवा नेताको पहल, ‘देश र कांग्रेस जोडौँ’ अभियान सुरु
Prime TV News ४८ मिनेट अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीभित्र देखिएको आन्तरिक विवाद अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउन ‘देश र कांग्रेस जोडौँ’ अभियानअन्तर्गत एकता–सद्भाव विमर्श आयोजना गरेका छन्।
बुधबार काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरसहित विभिन्न नेता तथा राजनीतिक विश्लेषकहरूले पार्टी एकता र लोकतन्त्रको सुदृढीकरणबारे धारणा राखेका थिए।
राष्ट्रियसभा सदस्य रञ्जित कर्णले कांग्रेसभित्रको वर्तमान अवस्था फुटउन्मुख रहेको भन्दै त्यसलाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने बताए। संस्थापन र संस्थापनइतर दुवै पक्षले एक–एक कदम पछि हटेर सहमतिमा पुग्नुपर्नेमा जोड दिँदै उनले कांग्रेस कमजोर भए देशको लोकतान्त्रिक प्रणाली नै कमजोर हुने चेतावनी दिए।
निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले पनि पार्टीभित्र सहमतिको वातावरण बन्ने विश्वास व्यक्त गरे। उनले आवश्यक परे आफू लगायत केही केन्द्रीय सदस्यहरू पदमा नबस्न तयार रहेको उल्लेख गर्दै पार्टी सभापतिले विधानअनुसार सबै पक्षलाई समेटेर समाधान निकाल्नुपर्ने धारणा राखे। साउन २४ गते बस्ने केन्द्रीय समिति बैठकले यस विषयमा निकास दिने अपेक्षा उनले व्यक्त गरे।
कार्यक्रममा नेता राजेन्द्र तिवारी, राजनीतिक विश्लेषक अरूण सुवेदी, आनन्द त्रिपाठी, लीला दाहाल, मनहरि श्रेष्ठ, आनन्द सन्तोषी राई, यज्ञप्रसाद न्यौपानेलगायतले पनि पार्टी एकता, संवाद र लोकतान्त्रिक मूल्यको संरक्षणका विषयमा विचार व्यक्त गरेका थिए।
अभियानले जारी गरेको विज्ञप्तिमा कांग्रेसलाई पुनः जनताको आशाको केन्द्र बनाउन संवाद, विश्वास र उत्तरदायित्वको राजनीतिमा जोड दिइएको छ। प्रतिपक्षको भूमिका केवल सरकारको विरोधमा सीमित नभई सरकारलाई जवाफदेही बनाउने, समाधान प्रस्तुत गर्ने र जनताको आवाज बन्ने दायित्व रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा प्रतिशोधको होइन उत्तरदायित्वको राजनीति, विभाजनको होइन भविष्य निर्माणको संकल्प व्यक्त गर्दै कांग्रेस फुट्न नदिने, लोकतन्त्र कमजोर हुन नदिने, युवाको आशा जोगाउने र जनताको विश्वास कायम राख्ने प्रतिबद्धता पनि दोहोर्याइएको छ।






