एमालेले सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने घोषणा गरेको छ।
‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत राजधानी प्रदेश कमिटीले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको सदस्यता सम्बन्धी कार्यशालामा उक्त योजना सार्वजनिक गरिएको हो।
एमालेले पार्टी र जनताबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा संगठनलाई तल्लो तहसम्म सक्रिय र व्यवस्थित बनाउने उद्देश्यले डिजिटल सदस्यता प्रणाली लागू गर्न लागेको जनाएको छ।
पार्टी सचिव डा. राजन भट्टराईले संगठनका विवरण, संरचनागत अवस्था, सूचना प्रवाह, प्रतिवेदन व्यवस्थापन तथा जनसम्पर्कका काममा डिजिटल प्रविधिको अधिकतम प्रयोग गरिने बताए। उनले डिजिटल प्रणालीले संगठन सञ्चालनलाई आधुनिक, प्रभावकारी र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यसैगरी पार्टी सचिव भानुभक्त ढकालले सदस्यता विवरण र अन्य महत्वपूर्ण दस्तावेजलाई प्राकृतिक विपत्ति वा अन्य जोखिमबाट सुरक्षित राख्न तथा प्रशासनिक कामलाई छरितो बनाउन डिजिटल सदस्यता प्रणाली आवश्यक रहेको बताए।
एमाले नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि वडा र पालिका तहमै नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको जनाएको छ।







