आजको मौसम: पाँच प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of आजको मौसम: पाँच प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ तराई क्षेत्रनजिक सक्रिय रहेकाले आज देशका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

वाग्मती र गण्डकीका हिमाल, पहाड र तराई क्षेत्र तथा कोसीका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मधेस र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

त्यसैगरी कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही पहाडी र तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागको भनाइ छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाले नदी, खोलामा पानीको बहाव बढ्न सक्ने तथा पहिरो र डुबानको जोखिम रहने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।