जर्मनीको लाइपजिग–हाले विमानस्थलमा विस्फोटकयुक्त ड्रोन फेला, उडान केही समय प्रभावित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जर्मनीको लाइपजिग हाले विमानस्थलमा युक्रेनी मालवाहक विमाननजिक विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ।
मंगलबार राति भएको घटनापछि केही समयका लागि विमानस्थलको उडान सेवा प्रभावित भएको थियो। प्रहरीका अनुसार राति विमानस्थलका एक कर्मचारीले रनवे नजिक पार्क गरिएको युक्रेनी मालवाहक विमानको आसपास शंकास्पद ड्रोन देखेपछि सुरक्षा निकायलाई जानकारी दिएका थिए।
त्यसपछि राज्य र संघीय प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै विमानस्थलमा उडान अस्थायी रूपमा रोकिएको थियो।
यस क्रममा केही मालवाहक विमान तथा एक यात्रुवाहक उडानलाई अन्य विमानस्थलतर्फ मोडिएको प्रहरीले जनाएको छ। बम डिस्पोजल रोबोटको प्रयोग गरेर ड्रोनमा जडान गरिएको डिटोनेटर सुरक्षित रूपमा निष्क्रिय पारिएको र त्यसपछि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीका प्रवक्ताले बताएका छन्।
घटनापछि अनुसन्धान तथा प्रमाण संकलनको कार्य जारी छ। उत्तरी रनवेबाट उडान सञ्चालन पुनः सुरु गरिएको भए पनि दक्षिणी रनवे आंशिक रूपमा बन्द राखिएको छ। ड्रोन कसले, किन र कसरी विमानस्थल परिसरमा पुर्यायो भन्ने विषयमा जर्मन प्रहरी र सम्बन्धित अनुसन्धान निकायले विस्तृत अनुसन्धान अघि बढाइरहेका छन्।







