रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी, चालक सकुशल
Prime TV News एक महिना अगाडि 
रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गरुडा नगरपालिका–३ को धनसर पुल नजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्करमा आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर दुर्घटनापछि आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगोका कारण ट्याङ्कर पूर्ण रूपमा ध्वस्त भए पनि चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको छ। घटनापछि केही समय प्रभावित भएको पूर्व–पश्चिम राजमार्गमा अहिले सवारी आवागमन पुनः सुचारु भएको उनले जानकारी दिए।
दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।







