मधेसकेन्द्रित सात दल ‘अग्रगामी मोर्चा’ गठनको तयारीमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । लामो समयदेखि विभाजित रहँदै आएका मधेसकेन्द्रित राजनीतिक दलहरू साझा राजनीतिक एजेन्डासहित नयाँ सहकार्यतर्फ अग्रसर भएका छन्।
सात दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने तयारी गरिरहेका छन्। मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी हुने प्रारम्भिक सहमति भएको नेताहरूले बताएका छन्।
यस पहलको विशेष पक्ष भनेको विगतमा राजनीतिक रूपमा आमनेसामने रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र आम जनता पार्टीका अध्यक्ष प्रभु साह एउटै राजनीतिक मोर्चामा सहकार्य गर्न तयार हुनु हो। गौर घटनापछि पहिलोपटक उनीहरू एउटै राजनीतिक अभियानमा देखिन लागेका हुन्।
जनमत पार्टीका अध्यक्ष सीके राउतले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थाको संरक्षणका लागि साझा अभियान आवश्यक भएको बताए। उनका अनुसार प्रारम्भिक चरणमा दलहरूले आफ्नो छुट्टै संगठन कायम राख्दै साझा मुद्दामा सहकार्य गर्नेछन्।
मोर्चाको दीर्घकालीन योजनाअनुसार आगामी निर्वाचनमा सम्भव भए एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने, अन्यथा चुनावी तालमेल गर्ने र भविष्यमा पार्टी एकीकरणसम्म पुग्ने लक्ष्य राखिएको छ। यस विषयमा करिब दुई महिनादेखि आन्तरिक छलफल भइरहेको जनाइएको छ।
जसपा नेपालका नेता जितेन्द्रप्रसाद सोनारले मोर्चा गठनबारे हालसम्म सैद्धान्तिक सहमति मात्र भएको जानकारी दिए। उनले मोर्चाको नेतृत्व, संरचना, कार्यक्रम र सञ्चालन विधिबारे थप छलफल जारी रहेको बताए। राजनीतिक विश्लेषकहरूले भने मोर्चाको सफलता घोषणा मात्र नभई त्यसको आन्तरिक एकता, साझा नेतृत्व र दीर्घकालीन निरन्तरतामा निर्भर रहने बताएका छन्।
उनीहरूका अनुसार पछिल्ला वर्षहरूमा बदलिएको राजनीतिक समीकरण र नयाँ शक्तिको उदयपछि मधेसकेन्द्रित दलहरू साझा राजनीतिक आधार निर्माण गर्ने प्रयासमा जुटेका हुन्।







