दुई दिनमै तोलामा १२ हजार २०० रुपैयाँले बढ्यो सुन, आज २ लाख ९६ हजार रुपैयाँ पुग्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि उल्लेख्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको थियो।
त्यसदिन पनि मूल्य ४ हजार २०० रुपैयाँले बढेको थियो। यससँगै दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले वृद्धि भएको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन पनि चाँदीको मूल्य समान ९५ रुपैयाँले बढेर ४ हजार ४७५ रुपैयाँ पुगेको थियो।
यसअघि चालु वर्षको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। त्यही दिन चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर कीर्तिमान कायम गरेको थियो।
यद्यपि, माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो एकदिने गिरावट मानिएको छ।







