निर्मला पन्त हत्या प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिप्रश्न, सांसद विश्वकर्माले जनाए आपत्ति
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणमा दोषी कहिले पत्ता लाग्छ भन्ने प्रश्नको जवाफ दिँदै प्रश्नकर्तामाथि नै प्रतिप्रश्न गरेका छन्।
बिहीबार राष्ट्रियसभाको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका गृहमन्त्री गुरुङले सांसद विष्णुबहादुर विश्वकर्माले सोधेको प्रश्नको जवाफ दिने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन्। सांसद विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नुको कारणबारे प्रश्न गरेका थिए।
उनले राज्य संयन्त्र असफल भएको हो कि होइन भन्दै सरकारसँग जवाफ मागेका थिए। जवाफमा गृहमन्त्री गुरुङले निर्मला पन्त हत्या प्रकरण निकै संवेदनशील विषय भएको उल्लेख गर्दै विगतका सरकारले गर्न नसकेको कामको जिम्मेवारी वर्तमान सरकारले मात्रै बोक्न नहुने बताए।
“यो एकदमै संवेदनशील विषय हो। अहिलेको सरकारलाई यो भारी नबोकाउनुस्,” मन्त्री गुरुङले भने, “म माननीयज्यूलाई नै प्रश्न गर्न चाहन्छु– तपाईंहरू सरकारमा हुँदा हत्यारा किन पत्ता नलगाएको?”
मन्त्रीको यस्तो जवाफप्रति सांसद विश्वकर्माले आपत्ति जनाएका छन्। पूरक प्रश्न राख्ने क्रममा उनले सांसदले प्रश्न सोध्न पाउने अधिकार र मन्त्रीले जवाफ दिने जिम्मेवारी संसदीय व्यवस्थाको आधारभूत प्रक्रिया भएको बताए।
उनले मन्त्रीले प्रश्नको जवाफ दिनुपर्नेमा प्रतिप्रश्न गरेर सांसदको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए। त्यसपछि विश्वकर्माले पुनः निर्मला पन्त हत्या प्रकरणमा दोषी पहिचान र न्यायको अवस्थाबारे प्रश्न दोहोर्याएका थिए।







