रास्वपाले स्थानीय निर्वाचनका लागि ल्यायो उम्मेदवार छनोटको नयाँ मापदण्ड, चार चरण पार गरेपछि मात्र टिकट

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाले स्थानीय निर्वाचनका लागि ल्यायो उम्मेदवार छनोटको नयाँ मापदण्ड, चार चरण पार गरेपछि मात्र टिकट

काठमाडौ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत कार्यविधि सार्वजनिक गरेको छ।

पार्टीले उम्मेदवार बन्न चाहनेलाई ‘क्यान्डिडेट क्लब’मार्फत चरणबद्ध परीक्षण, मूल्यांकन र आन्तरिक निर्वाचन प्रक्रियाबाट लैजाने व्यवस्था गरेको हो। करिब आठ महिनापछि हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै तयार गरिएको कार्यविधिअनुसार देशभरका ३५ हजार २२१ पदका लागि रास्वपाबाट उम्मेदवार छनोट यही प्रणालीमार्फत गरिनेछ।

पार्टीले वैज्ञानिक, पारदर्शी र वस्तुपरक प्रक्रियाबाट योग्य नेतृत्व चयन गर्ने उद्देश्यले नयाँ अभ्यास सुरु गरिएको जनाएको छ। कार्यविधिअनुसार मेयर, उपमेयर, वडाध्यक्ष वा वडा सदस्यका आकांक्षीले सुरुमा ‘क्यान्डिडेट क्लब’मा आवेदन दिनुपर्नेछ।

आवेदनकर्ताले कानुनी योग्यता पूरा गरेको, पार्टीको साधारण सदस्य रहेको तथा पार्टीको विचार, नीति र सिद्धान्तप्रति प्रतिबद्ध रहेको हुनुपर्नेछ। उम्मेदवार बन्न चाहने व्यक्तिले घरेलु हिंसा, यौन दुर्व्यवहार, साइबर बुलिङजस्ता गतिविधिमा संलग्न नरहेको, आफ्नो वैवाहिक अवस्थाबारे कानुनी स्पष्टता रहेको तथा आफूमाथि कुनै मुद्दा भए–नभएको विषयमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।

चार चरणको मूल्यांकनपछि मात्र टिकट

रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई चार चरणमा विभाजन गरेको छ। कुल १०० प्रतिशत अंकभारमध्ये सबै चरण पार गर्ने उम्मेदवारलाई मात्र अन्तिम छनोटमा समावेश गरिनेछ। पहिलो चरणमा ‘लिडरसिप एकेडेमी’ रहनेछ, जसलाई २५ प्रतिशत अंकभार दिइएको छ। आवेदन स्वीकृत भएका उम्मेदवारले यस चरणमा सहभागी भई परीक्षा उत्तीर्ण गर्नुपर्नेछ।

दोस्रो चरणमा ‘पोलिटिकल प्रोक्सिमिटी’अन्तर्गत संगठनमा योगदान, जनसम्बन्ध, लोकप्रियता, चुनाव जित्ने सम्भावना, आचरण र सामाजिक मूल्यांकनका आधारमा २५ प्रतिशत अंक प्रदान गरिनेछ। तेस्रो चरणमा संवैधानिक समावेशी सिद्धान्तका आधारमा १० प्रतिशत अतिरिक्त अंक दिइनेछ।

तर विगतमा सांसद, मन्त्री, स्थानीय तहका प्रमुख–उपप्रमुख वा उच्च राजनीतिक तथा कूटनीतिक जिम्मेवारी पाइसकेका तथा आरक्षण सुविधा प्रयोग गरिसकेकाले यो अंक पाउने छैनन्। चौथो चरणमा आन्तरिक निर्वाचन हुनेछ, जसलाई सबैभन्दा बढी ४० प्रतिशत अंकभार दिइएको छ। सदस्यहरूको मतदानबाट प्राप्त मत अन्तिम मूल्यांकनको मुख्य आधार बन्नेछ।

आन्तरिक निर्वाचनमा क्रियाशील सदस्यको मतलाई ७५ प्रतिशत, मध्यवर्ती सांगठनिक तहको मतलाई १५ प्रतिशत र केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा संघीय सांसद सहित विशिष्ट मतदाताको मतलाई १० प्रतिशत भार दिइनेछ।

टिकट प्रक्रियामा चलखेल रोक्ने दाबी

रास्वपाले आर्थिक लेनदेन, टिकटमा चलखेल, धाँधली, गुटबन्दी, दुष्प्रचार र चरित्रहत्याजस्ता गतिविधिलाई गम्भीर अनुशासनहीनता मानेर कारबाही गर्ने जनाएको छ। यसका लागि केन्द्रीय पदाधिकारीको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिने कार्यविधिमा उल्लेख छ।

असाधारण अवस्था सिर्जना भए नियमित प्रक्रियाबाहिरबाट पनि उम्मेदवार छनोट गर्न सकिने व्यवस्था राखिएको छ, जसका लागि केन्द्रीय समितिको दुईतिहाइ बहुमत आवश्यक पर्नेछ।