ब्लु बस सेवा लैंगिक विभाजनका लागि नभई महिलाको सुरक्षा लक्षित उपाय : मन्त्री बादी

User Image Prime TV News एक महिना अगाडि
Image of ब्लु बस सेवा लैंगिक विभाजनका लागि नभई महिलाको सुरक्षा लक्षित उपाय : मन्त्री बादी

काठमाडौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले महिलाका लागि सञ्चालन गर्न लागिएको निःशुल्क ब्लु बस सेवा महिला र पुरुषबीच विभाजन सिर्जना गर्ने सरकारी नीति नभएको स्पष्ट पारेकी छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा यात्रासम्बन्धी व्यवहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्न लक्षित उपायका रूपमा ब्लु बस सेवा अघि बढाइएको बताइन्।

उनले छुट्टै बस सेवा सञ्चालन गर्नु लैंगिक असमानता बढाउने कदम नभई विद्यमान जोखिम र असमान अवस्थालाई न्यूनीकरण गर्ने आवश्यकतामा आधारित उपाय भएको दाबी गरिन्। मन्त्री बादीका अनुसार सरकारको मुख्य लक्ष्य महिला र पुरुष दुवैले एउटै सार्वजनिक यातायात प्रणालीमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु भएको वताइन् । 

उनले ब्लु बस सेवा प्रचार वा लोकप्रियताका लागि ल्याइएको अल्पकालीन कार्यक्रम नभएको भन्दै महिलाले तत्काल भोगिरहेका जोखिम समाधान गर्दै सार्वजनिक यातायात प्रणालीलाई दीर्घकालीन रूपमा सुधार गर्ने संक्रमणकालीन प्रयास भएको बताइन्।

सार्वजनिक यातायातलाई लैंगिकमैत्री, सुरक्षित, मर्यादित, पहुँचयुक्त र उत्तरदायी बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री बादीको भनाइ छ।