रुखो शैलीप्रति गृहमन्त्री गुरुङले मागे माफी, भने ‘सिक्दै जानेछु’
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग आफ्नो भाषा र शैली रुखो हुन पुगेको स्वीकार गर्दै माफी मागेका छन्।
मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा सांसदहरूसँग भनाभन भएपछि मन्त्री गुरुङले रोस्ट्रमबाटै आफ्नो अभिव्यक्तिप्रति क्षमा मागेका हुन्। बैठकमा निर्मला पन्त हत्या प्रकरणको विषय उठेपछि मन्त्री गुरुङले आक्रोशित हुँदै जवाफ दिएका थिए।
उनको शैलीप्रति सदनमा प्रश्न उठेपछि उनले पुनः सम्बोधन गर्दै आफ्नो व्यवहारका लागि माफी मागे। “हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौँ। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। यसका लागि म क्षमाप्रार्थी छु र हजुरहरूसँग माफी माग्न चाहन्छु,” मन्त्री गुरुङले भने।
उनले आफू नयाँ भएकाले अनुभवी सांसदहरूबाट सिक्ने क्रममा रहेको बताए। साथै, आफ्नो अभिव्यक्तिलाई स्वाभाविक रूपमा लिन आग्रह गरे। तर, मन्त्री गुरुङले विपद् व्यवस्थापनसम्बन्धी छलफलमा अन्य राजनीतिक विषय जोडिएकोप्रति भने असन्तुष्टि व्यक्त गरे।
उनले मनसुनजन्य विपद् व्यवस्थापन र निर्मला पन्त हत्या प्रकरण फरक विषय भएकाले छलफल विषयकेन्द्रित हुनुपर्ने बताए। “विपद् व्यवस्थापनको विषयमा हामी छलफल गर्दै थियौँ, तर विषयकेन्द्रित नभएर निर्मला पन्त हत्याकाण्ड जोडियो। निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनको सम्बन्ध के हो? मलाई अचम्म लागिरहेको छ,” उनले भने।
मन्त्री गुरुङले माफी मागेपछि राष्ट्रियसभा बैठकको वातावरण केही सहज बनेको थियो।







