फ्याक्ट्स नेपालले सार्वजनिक गर्यो ‘फ्याक्ट्स अफ नेपाल २०२६’
Prime TV News एक महिना अगाडि 
काठमाडौ । फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स (फ्याक्ट्स नेपाल)ले ‘फ्याक्ट्स अफ नेपाल २०२६’ सार्वजनिक गरेको छ। यो प्रकाशनको ११औँ संस्करण हो।
फ्याक्ट्स नेपालका अनुसार नयाँ संस्करणमा नेपालको राष्ट्रिय, आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थाबारे तथ्यांकमा आधारित समग्र जानकारी समेटिएको छ। यस संस्करणलाई ‘रंगीन अर्थतन्त्र’ अवधारणाअनुसार १० वटा विषयगत खण्डमा विभाजन गरिएको छ।
प्रकाशनमा राष्ट्रिय तथा प्रादेशिक परिचय, हरित अर्थतन्त्र, औपचारिक (ह्वाइट) अर्थतन्त्र, पर्पल, गोल्ड, रेड, अरेन्ज र ग्रे अर्थतन्त्र, राजनीतिक अर्थतन्त्र तथा फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्ससम्बन्धी विषय समावेश गरिएको छ।
प्रकाशनमा कृषि, प्राकृतिक स्रोत, स्वास्थ्य, सामाजिक सुरक्षा, वित्त, बैंकिङ, व्यापार, उद्योग, पूर्वाधारलगायत विभिन्न क्षेत्रका तथ्यांकलाई व्यवस्थित रूपमा प्रस्तुत गरिएको जनाइएको छ। संस्थाका अनुसार रंगीन अर्थतन्त्रको अवधारणाले अर्थतन्त्रका विभिन्न क्षेत्र, प्रणाली र विकासका चरणलाई विषयगत रूपमा वर्गीकरण गर्न सहयोग पुर्याउँछ।
फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स प्रालिले खुद्रा बजार अध्ययन, अनुकूलित अनुसन्धान, मिडिया आउटरिच तथा अभियान रणनीतिका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले नेपालमा अनुसन्धानका नयाँ पहल अघि बढाउँदै टेलिभिजन, पत्रपत्रिका, जर्नल र अनलाइन सञ्चारमाध्यमसँग सहकार्य गरी तथ्यांकमा आधारित सामग्री सार्वजनिक गर्दै आएको जनाएको छ।







