कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चले पुनरावलोकनको अनुमति दियो

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चले पुनरावलोकनको अनुमति दियो

काठमाडौ । नेपाली कांग्रेसको आधिकारिकता तथा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आफ्नो अघिल्लो फैसला पुनरावलोकन गर्ने अनुमति दिएको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्दै पुनरावलोकनको अनुमति (निस्सा) प्रदान गरेको हो।

यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई दिएको मान्यता र गगन थापा नेतृत्वको कार्यसमितिको अभिलेख अद्यावधिक गर्ने निर्णयलाई सदर गरेको थियो।

निर्वाचन आयोगले २०८२ माघ २ गते विशेष महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले त्यसबेला रिट खारेज गर्दै विशेष महाधिवेशनलाई विधानअनुसारको प्रक्रिया ठहर गरेको थियो।

देउवा र खड्काले अघिल्लो फैसलामा गम्भीर कानुनी त्रुटि रहेको दाबी गर्दै पुनरावलोकनको निवेदन दिएका थिए। अदालतले पुनरावलोकनको अनुमति दिएसँगै अब मुद्दाको पुनः विस्तृत सुनुवाइ हुनेछ। अब विपक्षी पक्ष, गगन थापा नेतृत्वको कार्यसमिति, निर्वाचन आयोगलगायतलाई अदालतले म्याद जारी गर्नेछ। त्यसपछि दुवै पक्षको बहस र प्रमाणका आधारमा पूर्ण इजलासले अन्तिम फैसला गर्नेछ।

पुनरावलोकनपछि अदालतले अघिल्लो फैसला सदर गर्न वा आवश्यक ठानेमा संशोधन वा उल्ट्याउन सक्नेछ। यसबाट नेपाली कांग्रेसको आधिकारिक नेतृत्वसम्बन्धी विवादको अन्तिम कानुनी टुंगो लाग्ने अपेक्षा गरिएको छ।