कांग्रेस इतर समूहको राष्ट्रिय भेला : तयारीका लागि ३२ उपसमिति गठन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको ‘राष्ट्रिय भेला’को तयारीका लागि ३२ वटा उपसमिति गठन गरेको छ।
भेलालाई व्यवस्थित र प्रभावकारी बनाउन डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरिएको थियो। सोही मूल आयोजक समिति अन्तर्गत विभिन्न जिम्मेवारीसहित ३२ उपसमिति गठन गरी संयोजक तोकिएको प्रचार–प्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए।
सार्वजनिक गरिएको सूचीअनुसार भेलाको नीतिगत प्रस्ताव, व्यवस्थापन, प्रचार–प्रसार, समन्वय तथा अन्य आवश्यक कार्यका लागि छुट्टाछुट्टै उपसमिति बनाइएको छ। ती उपसमितिको नेतृत्व पार्टीका प्रभावशाली नेताहरूलाई दिइएको छ। इतर समूहले राष्ट्रिय भेलामार्फत पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा साझा धारणा तय गर्ने तयारी गरेको छ।
सार्वजनिक सूचीअनुसार राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा पूर्वउपसभापति विमलेन्द्र निधि, साङ्गठनिक प्रस्ताव तयारी समितिमा पूर्वसहमहामन्त्री उमाकान्त चौधरी र समसामयिक प्रस्ताव तयारी समितिमा एनपी साउदलाई जिम्मेवारी दिइएको छ।
यस्तै, विधान समितिको संयोजकमा रमेश लेखक, आर्थिक नीति समितिमा डा. प्रकाशशरण महत, प्रचार–प्रसार समितिमा मीन विश्वकर्मा, आर्थिक व्यवस्थापन समितिमा दीपक खड्का र प्रशासन समन्वय समितिमा मोहनबहादुर बस्नेत रहेका छन्।
भोजन व्यवस्थापन समितिको संयोजक पूर्णबहादुर तामाङ ‘कान्छाराम’, स्वयंसेवक परिचालन समितिको संयोजक जितजंग बस्नेत, सांस्कृतिक समितिको संयोजक विद्या तिमिल्सीना, मञ्च तथा हल व्यवस्थापन समितिको संयोजक राजु श्रेष्ठ र स्वास्थ्य समितिको संयोजक उमेशजंग रायमाझीलाई बनाइएको छ।
त्यसैगरी विदेशस्थित नेपाली जनसम्पर्क समन्वय समितिको संयोजक किरण पौडेल, ट्रेड युनियन समन्वय समितिमा हरिशरण नेपाली, भ्रातृ संघ समन्वय समितिमा गोविन्दबहादुर शाह, शुभेच्छुक संस्था समन्वय समितिमा ईश्वरी न्यौपाने, आदिवासी जनजाति समन्वय समितिमा गणेश लामा, दलित समुदाय समन्वय समितिमा नृप वड, महिला समन्वय समितिमा उषा राउत, युवा–विद्यार्थी परिचालन समितिमा कुन्दनराज काफ्ले तथा पेसागत बुद्धिजीवी परिचालन समितिमा भीमसेनदास प्रधान रहेका छन्।
प्रदेश समन्वयतर्फ सुदूरपश्चिममा वीरबहादुर बलायर, कोशीमा गोमा भट्टराई, मधेसमा पदमनारायण चौधरी, बागमतीमा शिव हुमागाईं, गण्डकीमा गुरु बराल, लुम्बिनीमा गेहेन्द्र गिरी र कर्णालीमा सीता रानालाई संयोजक तोकिएको छ।
अन्य समन्वय समितिअन्तर्गत वैदेशिक रोजगार व्यवसायी समन्वय समितिको संयोजकमा सीता देवकोटा, जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिमा मानबहादुर नेपाली तथा सचिवालय समन्वय समितिमा दीपकप्रसाद कुइँकेललाई जिम्मेवारी दिइएको छ।







