भारतीय अवरोधपछि सुस्ताबासी आफैं जुटे अस्थायी तटबन्ध निर्माणमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पश्चिम नवलपरासीको सुस्ता गाउँमा भारतीय पक्षको अवरोधका कारण पक्की तटबन्ध निर्माण रोकिएपछि स्थानीय बासिन्दा आफैं अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्।
लगातारको वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेर बस्ती डुबान र कटानको जोखिम बढेपछि स्थानीयले जनश्रमदान र आफ्नै स्रोतसाधन प्रयोग गरेर गाउँ जोगाउने अभियान थालेका हुन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भए पनि भारतीय पक्षको अवरोधका कारण काम अघि बढ्न नसकेको हो।
“भारतीय पक्षको अवरोधले ठेक्का भइसकेको काम पनि अधुरै रह्यो। अहिले नदी सीधै बस्तीमा पस्ने खतरा छ। हामी आफ्नै स्रोत, साधन, मेसिन र जनश्रमदानमार्फत अस्थायी तटबन्ध बनाएर गाउँ जोगाउने प्रयास गरिरहेका छौं,” उनले भने।
भेलडारको रुख र सिमल क्षेत्र आसपास निर्माण गर्नुपर्ने तटबन्धमा लामो समयदेखि अवरोध भइरहेको स्थानीयको भनाइ छ। सोही क्षेत्रमा नदीको बहाव बस्तीतर्फ मोडिने जोखिम बढेपछि युवा, वृद्ध र महिलासमेत दैनिक रूपमा श्रमदानमा सहभागी भइरहेका छन्।
स्थानीयले आफ्नै खर्चमा एस्काभेटर प्रयोग गर्नुका साथै बाँस, रुखका हाँगा, नायलन क्रेट र बोरामा बालुवा–गिट्टी भरेर नदीको बहाव रोक्ने प्रयास गरिरहेका छन्। केही दिनअघि भारतीय सुरक्षाकर्मीले स्थानीयले बनाएको अस्थायी तटबन्ध भत्काइदिएको र त्यसक्रममा केही नेपाली घाइते भएको स्थानीयले बताएका छन्। त्यसपछि स्थानीय अझ संगठित भएर निर्माण कार्यमा जुटेका हुन्।
लगातारको वर्षाले नारायणी नदीको जलसतह बढ्दै जाँदा कटानको जोखिम तीव्र बनेको छ। स्थानीयले अस्थायी तटबन्धले तत्काल राहत दिन सक्ने भए पनि स्थायी समाधानका लागि सरकारले कूटनीतिक पहल गरी पक्की तटबन्ध निर्माण सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
सुस्ताबासीले नेपाल सरकार, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई भारतीय पक्षसँग तत्काल कूटनीतिक वार्ता गरी रोकिएको तटबन्ध निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन्।







