विराटनगर विमानस्थलबाट अभिषेक गिरी पुनः पक्राउ, आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान सुरु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अभिषेक गिरीलाई बिहीबार साँझ विराटनगर विमानस्थलबाट प्रहरीले पुनः पक्राउ गरेको छ। काठमाडौंबाट बुद्ध एयरको उडानमार्फत विराटनगर पुगेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अदालतबाट यसअघि नै पक्राउ अनुमति लिइसकिएको थियो। सोही पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
गिरी यसअघि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा परेका थिए। निर्माण व्यवसायी सुभाष श्रेष्ठको किटानी जाहेरीका आधारमा सीआईबीले उनलाई गत असार २३ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं लगेको थियो।
सीआईबीको अनुसन्धानले गिरीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै सोही रकम बिगो मागदाबीका साथ मुद्दा चलाउन सिफारिस गरेको थियो। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। प्रारम्भमा धरौटी रकम बुझाउन नसकेपछि उनी डिल्लीबजार कारागार चलान भएका थिए। पछि धरौटी बुझाएर रिहा भएका गिरी विराटनगर पुगेलगत्तै अर्को मुद्दामा पुनः पक्राउ परेका हुन्।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीले आफ्नो कम्पनीमार्फत निर्माण व्यवसायीलाई ठेक्का सम्पन्न गरिदिने भन्दै रकम लिएर ठगी गरेको आरोप छ।
मोरङ प्रहरीले गिरीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको जनाएको छ। यसअघि पनि उनी असार १३ गते मोरङ कारागारका कैदीबन्दीबाट अवैध असुली गरेको आरोपमा पक्राउ परेका थिए। त्यस मुद्दामा हाजिर जमानीमा छुटेपछि सीआईबीले ठगी प्रकरणमा पुनः अनुसन्धान गरेको थियो।







