जन्मसिद्ध नागरिकता सम्बन्धी ट्रम्पका दुई नयाँ कार्यकारी आदेश, सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतासम्बन्धी दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी सर्वोच्च अदालतको अघिल्लो निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
दुई महिनाअघि सर्वोच्च अदालतले अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थालाई चुनौती दिने ट्रम्प प्रशासनको प्रयासलाई ६–३ को बहुमतले अस्वीकार गरेको थियो। उक्त निर्णयबारे प्रतिक्रिया दिँदै ट्रम्पले त्यसलाई 'दुर्भाग्यपूर्ण' भन्दै आलोचना गरेका छन्।
अमेरिकी संविधानको १४औँ संशोधनअनुसार अमेरिकी भूमिमा जन्मिएका अधिकांश शिशुले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्था छ। विदेशी कूटनीतिज्ञका सन्तान तथा शत्रु राष्ट्रका सैनिकका सन्तानजस्ता केही सीमित अपवाद भने यस व्यवस्थामा रहेका छन्।
ट्रम्पले यो व्यवस्था गृहयुद्धपछि दासका सन्तानलाई नागरिकता सुनिश्चित गर्न ल्याइएको भए पनि अहिले यसको दुरुपयोग भइरहेको दाबी गरेका छन्।
ह्वाइट हाउसका अनुसार पहिलो कार्यकारी आदेशले विदेशी आतंकवादी संगठनसँग आबद्ध व्यक्तिका सन्तान तथा विदेशी सरकारका तर्फबाट कार्यरत केही व्यक्तिका बालबालिकालाई जन्मसिद्ध नागरिकताको सुविधा नदिने उद्देश्य राखेको छ।
ट्रम्प प्रशासनका अध्यागमन नीतिका सल्लाहकार स्टेफन मिलरले यसबाट नागरिकता व्यवस्थाको दुरुपयोग रोक्न सहयोग पुग्ने बताएका छन्।
दोस्रो कार्यकारी आदेशले ‘बर्थ टुरिजम’लाई लक्षित गरेको छ। यसअन्तर्गत बच्चाले अमेरिकी नागरिकता प्राप्त गरोस् भन्ने उद्देश्यले गर्भवती महिलाले पर्यटक भिसामा अमेरिका जाने अभ्यासलाई रोक्ने प्रयास गरिएको छ। प्रशासनले यस्तो उद्देश्यका लागि पर्यटक भिसा जारी नगर्ने जनाएको छ।
यद्यपि, अमेरिका पुगेर सन्तान जन्माउने विदेशी महिलाको आधिकारिक तथ्यांक उपलब्ध छैन। ट्रम्प समर्थक संस्था सेन्टर फर इमिग्रेसन स्टडिजले सन् २०१६–२०१७ को अवधिमा २० हजारदेखि २५ हजार महिलाले यस्तो गरेको दाबी गरेको छ।
ह्वाइट हाउसले नयाँ कार्यकारी आदेश सर्वोच्च अदालतको अघिल्लो निर्णयसँग नबाझिने दाबी गरे पनि कानुनविद्हरूले यसलाई अदालतमा चुनौती दिइने सम्भावना रहेको बताएका छन्।
हाल अमेरिकी कानुनले ‘बर्थ टुरिजम’लाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छैन। तर, सन् २०२० देखि लागू भएको नियमअनुसार अमेरिकी नागरिकता दिलाउने मुख्य उद्देश्यले पर्यटक वा व्यावसायिक भिसा प्रयोग गरेर अमेरिका जान अनुमति दिइँदैन।







