प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक प्रस्तुत हुने सम्भावना
Prime TV News एक महिना अगाडि 
काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ।
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित पाँचवटा विधेयक तथा एक समितिको प्रतिवेदन प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनमा पेस गर्नेछन्।
यस्तै, प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा दर्ता गराउनेछिन् भने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्।
त्यसैगरी परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
यसैबीच आज बिहान १० बजे तीनवटा संसदीय समितिको बैठक पनि बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषयविज्ञसँग छलफल गर्नेछ।
कानुन, न्याय तथा मानवअधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानवअधिकार अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरेको छ।
यस्तै, पूर्वाधार विकास समितिले विद्युत् वितरण लाइन र पोल व्यवस्थापनमा भएको ढिलाइका कारण सडक निर्माणमा परेको प्रभावबारे सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रम रहेको छ।







