तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको बीओपीमा क्षति

User Image Prime TV News एक महिना अगाडि
Image of तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको बीओपीमा क्षति

काठमाडौ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा गएराति खसेको सुख्खा पहिरोले सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) मा भौतिक क्षति पुर्‍याएको छ।

घटनामा भने कुनै मानवीय क्षति भएको छैन। सशस्त्र प्रहरीका अनुसार राति करिब १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो। पहिरोसँगै झरेका ठूला ढुंगाले बीओपी परिसरका विभिन्न संरचनामा क्षति पुर्‍याएका हुन्।

पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्ता र जस्ताको छानामा प्वाल परेको छ। त्यसैगरी एउटा ड्युटी पोस्ट पूर्ण रूपमा र अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनामा राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने बाथरुम, जिन्सी स्टोर भवन तथा मुख्य गेटअगाडिको सिँढीमा पनि क्षति पुगेको छ।

घटनापछि सुरक्षा अवस्थाको मूल्याङ्कन तथा क्षतिग्रस्त संरचनाको मर्मतसम्भारका लागि आवश्यक प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।