आज देशका केही स्थानमा वर्षाको सम्भावना, भारी वर्षाको जोखिम नरहेको मौसम विभागको अनुमान
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि आज भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ भने तराईका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना छ।
मौसमविद्का अनुसार आगामी तीन दिनसम्म देशमा भारी वर्षाको सम्भावना देखिएको छैन। यद्यपि, अर्को साताको मंगलबार र बुधबार भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने संकेत रहेको उनले बताएका छन्।
उनका अनुसार अत्यधिक वा भीषण वर्षाको सम्भावना भने हाल देखिएको छैन। विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ भने मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।







