पुराना दलको रंगरोगनले मात्रै नयाँ विकल्प बन्दैन : बाबुराम भट्टराई
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना नेता, पुराना विचार र पुरानै राजनीतिक प्रणालीलाई सामान्य फेरबदल वा रंगरोगन गरेर मात्रै नयाँ युगको आवश्यकता पूरा गर्ने वैकल्पिक राजनीतिक शक्ति निर्माण हुन नसक्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपालमा पुनः एकपटक राजनीतिक दलहरूबीच विघटन, पुनर्गठन तथा नयाँ निर्माणको प्रक्रिया सुरु भएको अनुभूति भइरहेको उल्लेख गरेका छन्। उनका अनुसार यस्तो प्रक्रिया प्रकृति, समाज र विचारको विकासक्रमअनुसार स्वाभाविक र अनिवार्य हो।
भट्टराईले वास्तविक अर्थमा नयाँ र अग्रगामी पार्टी निर्माण गर्न देशको वर्तमान आवश्यकता र समयअनुकूल नयाँ विचार, स्पष्ट नीति, प्रभावकारी कार्यक्रम, सक्षम नेतृत्व तथा सुदृढ संगठनात्मक संरचनासहितको पूर्ण प्याकेज आवश्यक पर्ने बताएका छन्।
उनले विचार र सिद्धान्तविहीन राजनीतिक दललाई दिशानिर्देशक यन्त्रबिनाको गाडी वा जहाजसँग तुलना गर्दै स्पष्ट वैचारिक आधारबिना राजनीतिक परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरेका छन्।
उनका अनुसार वित्तीय भूमण्डलीकरण, आन्तरिक जडता र बाह्य निर्भरताको दुष्चक्रबाट गुज्रिरहेको नेपाली समाजमा राजनीतिक दलहरू पुरानै वैचारिक सोचबाट माथि उठ्न नसक्नु नै अहिलेको प्रमुख चुनौती बनेको छ। समयअनुकूल नयाँ विचारको विकास गर्न नसक्दा देशको राजनीतिक रूपान्तरण अपेक्षित गतिमा अघि बढ्न नसकेको उनको भनाइ छ।
भट्टराईले बदलिँदो राजनीतिक र सामाजिक परिवेशलाई सम्बोधन गर्न दलहरूले केवल संरचनात्मक वा नेतृत्वगत परिवर्तनभन्दा अघि बढेर वैचारिक र नीतिगत रूपान्तरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।







