कोइराला निवास पुनःनिर्माणका लागि छुट्याइएको सरकारी बजेट नलिने डा. शेखरको निर्णय
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर स्थित ऐतिहासिक कोइराला निवासको पुनःनिर्माण तथा मर्मतका लागि सरकारले विनियोजन गरेको बजेट अस्वीकार गरेका छन् ।
डा. कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र पठाउँदै उक्त प्रयोजनका लागि छुट्याइएको रकम फिर्ता लिन आग्रह गरेका हुन्। गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी हुँदा विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा ठूलो क्षति पुगेको थियो।
त्यसपछि सरकारले निवासको पुनःनिर्माण र मर्मतका लागि बजेट विनियोजन गरेको थियो। तर डा. कोइरालाले नैतिक आधारमा सरकारी रकम स्वीकार गर्न आफू असमर्थ रहेको उल्लेख गर्दै उक्त बजेट नलिने निर्णय गरेका छन्। उनले सरकारलाई विनियोजित रकम फिर्ता लैजान अनुरोध गरेका छन्।
उनको निर्णयले राजनीतिक तथा सार्वजनिक वृत्तमा विभिन्न कोणबाट चर्चा सुरु भएको छ। यद्यपि, रकम अस्वीकार गर्नुका विस्तृत कारणबारे उनले सार्वजनिक रूपमा थप टिप्पणी गरेका छैनन्।
सरकारले विराटनगरस्थित कोइराला निवास मर्मत संहारका लागि आर्थिक बर्ष २०८३-८४ को बजेट मार्फत २ करोड रकम विनियोजन गरेको थियो ।








