साउनको १५ दिने करदाता प्रोत्साहन बम्परमा १० लाख रुपैयाँको उपहार घोषणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार विजेता घोषणा गरिएको छ।
शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बम्पर उपहारको नतिजा सार्वजनिक गरेका हुन्।
आन्तरिक राजस्व विभागका अनुसार साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने तथा नगद कारोबारपछि विभागको वेबसाइटमा खरिद बिल अपलोड गर्ने उपभोक्तालाई कार्यक्रममा सहभागी गराइएको थियो।
यस अवधिमा प्रत्येक दिनको कारोबारका आधारमा छनोट भएका १५ जना उपभोक्ताले करकट्टीपछि जनही एक लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन्। साथै, साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने सबै योग्य उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गरिएको विभागले जनाएको छ।
विभागले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिने र कर प्रणालीलाई थप पारदर्शी तथा प्रभावकारी बनाउन यस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।







