बागमती सरकार गठनको दौडबाट बाहिरियो राप्रपा, सत्ता समीकरणमा नजाने निर्णय

User Image Prime TV News एक महिना अगाडि
Image of बागमती सरकार गठनको दौडबाट बाहिरियो राप्रपा, सत्ता समीकरणमा नजाने निर्णय

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश सरकार गठनको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा सरकार गठनका लागि भइरहेको अंकगणितीय खेलमा नलाग्ने र कुनै पनि सत्ता समीकरणमा सहभागी नहुने निर्णय सर्वसम्मतिले गरेको हो।

नेता थापाका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय तथा निर्देशनअनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णयलाई प्रदेश संसदीय दलले अनुमोदन गरेको हो। यसअघि नेकपा एमालेले साउन ६ गते कांग्रेस नेतृत्वको बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो।

त्यसपछि एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठनका लागि नेतृत्व बाँडफाँट गर्ने सहमति भएको थियो, जसअनुसार मुख्यमन्त्री एमालेको भागमा परेको छ। तर सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन एमाले–नेकपा गठबन्धन अझै सफल हुन सकेको छैन।

बागमती प्रदेशमा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्नेमा एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद मात्रै छन्। १२ सांसद रहेको राप्रपाले सत्ता समीकरणबाट अलग रहने निर्णय गरेपछि बहुमत पुर्‍याउन एमालेले अब अन्य साना दल वा स्वतन्त्र सांसदको समर्थन खोज्नुपर्ने अवस्था बनेको छ।