प्रलोपाबाट अलग भए राम कार्की, ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’मा केन्द्रित हुने घोषणा

User Image Prime TV News एक महिना अगाडि
Image of प्रलोपाबाट अलग भए राम कार्की, ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’मा केन्द्रित हुने घोषणा

काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्।

पार्टी औपचारिक रूपमा विभाजन भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू अब प्रलोपामा नरहने जानकारी दिएका हुन्। कार्कीले आफू सुरुदेखि नै पार्टीको कुनै कार्यकारी जिम्मेवारीमा नरहेको उल्लेख गर्दै अब युवा पहलमा निर्माणाधीन वैचारिक संस्था ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’सँग आबद्ध भएर वैचारिक तथा शैक्षिक गतिविधिमा केन्द्रित रहने बताएका छन्।

साथै, प्रलोपामा रहँदा सहकर्मीहरूले गरेको सहयोग र आत्मीयतालाई सधैं सम्झिरहने उल्लेख गरेका छन्। प्रलोपाबाट यसअघि साबिक नयाँ शक्ति समूह सहमतिमै अलग भइसकेको छ। कार्कीले पार्टीमा आबद्ध अधिकांश नेता संसदीय राजनीतिमा केन्द्रित दलहरूबाट आएका कारण वैकल्पिक राजनीतिक अभियानभन्दा निर्वाचनमुखी सोच हाबी भएको र त्यसैले पार्टीले आफ्नो प्रारम्भिक वैचारिक दिशा कायम राख्न नसकेको टिप्पणी गरेका छन्।

उनका अनुसार पुराना दलको विकल्प बन्ने उद्देश्यसहित स्थापना भएको प्रलोपा निर्वाचनको राजनीतिमा अल्झिएपछि वैचारिक रूपमा कमजोर बन्दै गयो। नेताहरू विभिन्न पुराना राजनीतिक शक्तिसँग नजिकिँदै जाँदा पार्टी वैचारिक रूपमा विघटन हुँदै अन्ततः संगठनात्मक रूपमा पनि विभाजित भएको उनको निष्कर्ष छ।

कार्कीले पार्टीबाट आफ्नो बहिर्गमन सौहार्दपूर्ण रहेको उल्लेख गर्दै विभाजनपछि बनेका दुवै समूहलाई सफलताको शुभकामना दिएका छन्। गत फागुनमा प्रतिनिधिसभा निर्वाचनअघि नेकपा (माओवादी केन्द्र) छाडेका कार्की मङ्सिर ७ गते गठन भएको प्रलोपामा आबद्ध भएका थिए।

उक्त पार्टी नेसपा (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको सन्तोष परियार समूहको सहकार्यमा गठन गरिएको थियो।