नेपाल चीन र दक्षिण एसियाबीचको गतिशील पुल बन्न सक्छ : परराष्ट्रमन्त्री खनाल

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाल चीन र दक्षिण एसियाबीचको गतिशील पुल बन्न सक्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न महत्वपूर्ण सेतुको भूमिका खेल्न सक्ने बताएका छन्।

ललितपुरमा शुक्रबार आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले दुई ठूला छिमेकीबीचको भौगोलिक अवस्थालाई आर्थिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।

उनले नेपालले चीन र भारतसँग सार्वभौम समानता, पारस्परिक सम्मान, साझा हित र एकअर्काका वैध चासोप्रति संवेदनशील रहने सिद्धान्तका आधारमा स्वतन्त्र परराष्ट्र सम्बन्ध अघि बढाउँदै आएको उल्लेख गरे। एसियाको तीव्र आर्थिक विकासले क्षेत्रीय सहकार्य र साझा समृद्धिका लागि नयाँ सम्भावना सिर्जना गरेको भन्दै उनले दिगो विकासका लागि सहकार्य अपरिहार्य रहेको धारणा राखे।

परराष्ट्रमन्त्री खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको स्पष्ट पार्दै यसको उद्देश्य व्यापार, लगानी, रोजगारी, पर्यटन, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलताको विकासमार्फत नागरिकको जीवनस्तर उकास्नु रहेको बताए।

उनले दक्षिण एसियामा पर्याप्त आर्थिक सम्भावना हुँदाहुँदै पनि क्षेत्रीय आर्थिक एकीकरण अपेक्षित स्तरमा हुन नसकेको उल्लेख गर्दै कनेक्टिभिटी, सहज व्यापार, लगानी प्रवाह र आपूर्ति शृंखला सुदृढ गर्न सके समग्र क्षेत्रले उल्लेखनीय लाभ लिन सक्ने बताए।

सरकारले आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राख्दै गुणस्तरीय लगानी, पूर्वाधार विकास, स्वच्छ ऊर्जा, निर्यात प्रवर्द्धन, डिजिटल रूपान्तरण र निजी क्षेत्रको विकासमा विशेष जोड दिएको उल्लेख गर्दै उनले नेपाल सबै मित्रराष्ट्रसँग सहकार्य गर्न तयार रहेको बताए।

नेपाललाई भूपरिवेष्ठित मुलुकबाट चीन र दक्षिण एसियालाई जोड्ने जीवन्त आर्थिक पुलका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री खनालले देशमा ४२ हजार मेगावाटभन्दा बढी आर्थिक रूपमा सम्भाव्य जलविद्युत् क्षमता, समृद्ध जैविक विविधता, जलस्रोत, कृषि तथा डिजिटल अर्थतन्त्रमा लगानीका पर्याप्त अवसर रहेको बताए।

उनले भगवान् बुद्धको जन्मस्थल, गुरु पद्मसम्भवको आध्यात्मिक विरासत, सगरमाथा र विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाले नेपालको अन्तर्राष्ट्रिय पहिचान र ‘सफ्ट पावर’लाई थप मजबुत बनाएको उल्लेख गरे।

क्षेत्रीय सहकार्य, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल रूपान्तरण, अनुसन्धान तथा जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउन विश्वविद्यालय, अनुसन्धान संस्था र थिंक ट्यांकबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री खनालले विश्वास, पारस्परिक सम्मान र साझा हितमा आधारित साझेदारी निर्माणमा नेपाल सकारात्मक र रचनात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको बताए।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट तथा फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रको संयुक्त आयोजनामा उक्त अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो।