कांग्रेसको आधिकारिकता विवादमा कानुनी प्रक्रिया अघि बढ्छ : महामन्त्री घिमिरे
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतबाट पुनरावलोकनको चरणमा प्रवेश गरिसकेकाले अब कानुनी प्रक्रिया आफ्नै बाटोमा अघि बढ्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री घिमिरेले विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति कांग्रेसको विश्वास व्यवहारमै देखिनुपर्ने उल्लेख गरेका छन्। उनले अदालतका सबै कानुनी प्रक्रियालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
घिमिरेका अनुसार कांग्रेसको वर्तमान राजनीतिक दिशा अधिकांश महाधिवेशन प्रतिनिधिको विश्वास, विशेष महाधिवेशनको वैधानिक जनादेश र पार्टी रूपान्तरणको साझा संकल्पबाट तय भएको छ। उनले कानुनी प्रक्रिया चलिरहे पनि पार्टीको संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको प्रवर्द्धन, सुशासन र जनविश्वास पुनःस्थापनाको अभियान नरोकिने दाबी गरेका छन्। बरु यसले थप गति लिने उनको भनाइ छ।
महामन्त्री घिमिरेले लोकतन्त्रको आधार असहमतिलाई स्वीकार गर्नु भए पनि त्यसलाई अनन्त विवादमा परिणत गर्न नहुने बताएका छन्। संवाद, संस्थागत प्रक्रिया र पार्टी विधान नै लोकतान्त्रिक दलका मुख्य आधार भएको उनको भनाइ छ। उनले संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार गर्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थागत अभ्यासभन्दा व्यक्तिकेन्द्रित राजनीतिलाई बल पुग्ने टिप्पणी गरेका छन्।







