सम्पत्ति शुद्धीकरण मुद्दामा ‘चक्रे मिलन’लाई सर्वोच्चबाट सफाइ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गुण्डा नाइकेका रूपमा चिनिएका मिलन गुरुङ ‘चक्रे मिलन’ले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले बिहीबार विशेष अदालतले गरेको सफाइको फैसला सदर गरेको हो। सर्वोच्चको यो निर्णयसँगै विशेष अदालतको फैसलाविरुद्ध सरकारले गरेको पुनरावेदन खारेज भएको छ।
विशेष अदालतको फैसला बदर गर्न माग गर्दै सरकारले २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका आधारमा २०७० जेठमा गुरुङसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विभागले अवैध गतिविधिबाट सम्पत्ति आर्जन गरेको, धम्की दिएर रकम असुली गरेको र त्यस्तो सम्पत्तिलाई वैधानिक देखाउन विभिन्न क्षेत्रमा लगानी गरेको आरोप लगाएको थियो। अभियोगपत्रमा गुरुङले करिब ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरिएको थियो।
विभागले काठमाडौंमा रहेको ७ आना जग्गा तथा परिवारका सदस्यका नाममा काठमाडौं र गोरखामा रहेको करिब ३० रोपनी जग्गासहित ठूलो परिमाणको सम्पत्ति अवैध आर्जनबाट जोडिएको दाबी गरेको थियो।
यसै मुद्दाका अर्का अभियुक्त राजीव गुरुङ ‘दीपक मनाङे’ले भने २०७४ माघ १० गते नै सफाइ पाइसकेका छन्। अन्य अभियुक्त गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरीको मुद्दा भने अझै विचाराधीन रहेको छ।







