प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षीको विरोध जारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले शुक्रबार पनि उठेर विरोध जनाएका छन्।
सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा भारतको भूमि नेपालले मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले उक्त अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने र अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।
तर हालसम्म प्रधानमन्त्री शाहले सो विषयमा औपचारिक स्पष्टीकरण नदिएको र सभामुख अर्यालले पनि उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन नदिएको भन्दै विपक्षी दलहरूले विरोधलाई निरन्तरता दिएका हुन्। संसद्मा देखिएको यो विवादले सरकार र विपक्षीबीचको राजनीतिक मतभेद थप सतहमा ल्याएको छ।







