थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, पाँच शिक्षकसहित आठ जनाको मृत्यु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । थाइल्यान्डको राजधानी बैंककनजिकै रहेको नोन्थाबुरीस्थित डेब्सिरिन विद्यालयमा भएको गोलीकाण्डमा पाँच शिक्षकसहित आठ जनाको मृत्यु भएको छ।
घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार गोली चलाउने व्यक्ति सोही विद्यालयका १४ वर्षीय कक्षा ९ का विद्यार्थी हुन्। प्रारम्भिक अनुसन्धानअनुसार उनले विद्यालय जानुअघि आफ्नै हजुरबुबा र हजुरआमाको हत्या गरेका थिए।
त्यसपछि विद्यालय पुगेर विभिन्न स्थानमा गोली चलाएपछि उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ। घटनामा प्रयोग गरिएको पेस्तोल मृतक हजुरबुबाको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ। घटनाबाट सुरक्षित बाहिर निस्किएकी एक कक्षा ७ की छात्राले बन्दुकधारी विद्यार्थीले विभिन्न कक्षामा गएर शिक्षकहरूमाथि गोली चलाएको बताएकी छन्।
अर्का विद्यार्थीले सुरुमा गोलीको आवाजलाई पटाका पड्किएको वा कुनै वस्तु ठोक्किएको जस्तो ठानेको तर लगातार गोली चलेपछि मात्र घटनाको गम्भीरता थाहा पाएको बताएका छन्। घटनापछि विद्यालयका विद्यार्थी र कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको थियो।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी र उद्धार टोली परिचालन गरिएको थियो। सुरक्षाका कारण आसपासका केही विद्यालयले पनि समयअगावै कक्षा बन्द गरेका थिए। थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष अनुसन्धान गरिने बताएका छन्।
यसैबीच विपक्षी दलका नेता नत्थाफोङ रुएङपन्यावुतले विद्यालयजस्तो सुरक्षित स्थानमा भएको घटनाले हतियार नियन्त्रणसम्बन्धी कानुनको पुनरावलोकन आवश्यक देखाएको बताएका छन्। थाइल्यान्डमा बन्दुकसम्बन्धी कानुन कडा भए पनि दक्षिण–पूर्वी एसियामध्ये नागरिकसँग धेरै हतियार रहेको देशमध्ये पर्छ।
यसअघि पनि दक्षिणी थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा प्रधानाध्यापक र एक छात्राको मृत्यु भएको थियो। प्रहरीले घटनाको वास्तविक कारण अझै खुल्न नसकेको भन्दै विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।







