प्रधानमन्त्री बालेन शाहद्वारा चौमासिक प्रगति विवरण सार्वजनिक

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री बालेन शाहद्वारा चौमासिक प्रगति विवरण सार्वजनिक

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि भएका कामहरूको चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिएको हो। प्रधानमन्त्री शाह २०८२ चैत १३ गते प्रधानमन्त्री बनेका थिए।

सार्वजनिक गरिएको प्रतिवेदनलाई चौमासिक विवरण भनिए पनि यसमा मुख्य रूपमा वैशाख, जेठ र असार तीन महिनामा भएका सरकारी कामकारबाही समेटिएका छन्। प्रतिवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संरचना, काम, कर्तव्य र अधिकार, कर्मचारी विवरण तथा कार्यालयबाट भएका प्रमुख गतिविधिहरू समावेश गरिएको छ।

प्रतिवेदनअनुसार २०८३ वैशाख १ गतेदेखि असार मसान्तसम्म मन्त्रिपरिषद्का २१ वटा बैठक बसेका छन्। ती बैठकबाट कुल ३८४ वटा निर्णय भएका छन्। यस अवधिमा मन्त्रिपरिषद्का विभिन्न समितिका ८ वटा बैठक सम्पन्न भई १२ वटा निर्णय भएको विवरणमा उल्लेख छ।

सरकारले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ तर्जुमा गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। साथै, ‘शून्य बाँकी फाइल’ अभियान सञ्चालनका लागि आवश्यक मार्गदर्शन सबै मन्त्रालय, निकाय, आयोग र स्थानीय तहमा पठाई एकीकृत प्रगति विवरण माग गरिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणमा सरकारका प्रशासनिक सुधार, निर्णय प्रक्रिया र कार्यालयगत गतिविधिको अवस्थाबारे जानकारी समेटिएको छ।