ढल्केबर ट्रमा सेन्टरबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले उठाएको ढल्केबर ट्रमा सेन्टरसम्बन्धी विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद यादवले ढल्केबरमा निर्माण हुने भनिएको ट्रमा सेन्टरको योजना हटाइएको भन्दै आपत्ति जनाएका थिए। उनले निर्णय सच्याउन माग गर्दै दिनभर सदनमै अनशन बस्ने घोषणा गरेका थिए।
सभामुख अर्यालले यादवले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक जवाफ दिन निर्देशन दिएका थिए। त्यसपछि सांसद यादवले आफूले उठाएको विषयमा अर्थमन्त्री वा स्वास्थ्य तथा जनसंख्यामन्त्रीले सदनमा आएर स्पष्ट जवाफ दिनुपर्ने माग राखेका थिए।
सभामुखको निर्देशनपछि सांसद यादव आफ्नो स्थानमा बसेका थिए भने सभामुख अर्यालले प्रतिनिधिसभाको नियमित कार्यसूची अघि बढाएका थिए। ढल्केबर ट्रमा सेन्टरको योजना हटाइएको विषयलाई लिएर सांसद यादवले सदनमा विरोध जनाउँदै आएका छन्।







