सरकारले शासकीय अराजकता निम्त्यायो : कांग्रेस सभापति गगन थापा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका गतिविधिले शासकीय अराजकता बढाएको आरोप लगाएका छन्।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघको सम्मेलनलाई सम्बोधन गर्दै थापाले लोकतन्त्रको आधार नै कानुनको शासन भएको उल्लेख गर्दै विधिको शासनभन्दा माथि कोही हुन नसक्ने बताए। उनले सत्तापक्षका सांसद र मन्त्रीहरूको अभिव्यक्ति तथा व्यवहारप्रति प्रश्न उठाउँदै बहुमतको अहंकारले शासन प्रणालीलाई कमजोर बनाउने दाबी गरे।
“डेमोक्रेसीको आत्मा कानुनको शासन हो। विधिको शासनभन्दा माथि कोही छैन,” थापाले भने, “सत्ताधारी सांसदले कर्मचारीलाई धम्क्याउने र मन्त्रीहरूले उत्तेजक अभिव्यक्ति दिने अवस्था आउनु शासकीय अराजकताको संकेत हो।”
थापाले सरकार सञ्चालनमा संस्थागत प्रक्रिया कमजोर हुँदै गएको आरोप लगाउँदै प्रधानमन्त्री र मन्त्रीहरूले सम्बन्धित निकायलाई बेवास्ता गरेर छलफल गर्ने प्रवृत्ति देखिएको बताए। उनले धम्की, हिंसात्मक भाषा र राज्यका संस्थामाथि आक्रमण गर्ने अभिव्यक्तिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने भन्दै सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
“राज्यका निकायमाथि धम्की दिने, हिंसात्मक अभिव्यक्ति दिने प्रवृत्ति राम्रो होइन। यसमा हाम्रो पनि जिम्मेवारी छ, खबरदारी गर्नुपर्छ,” उनले भने। कांग्रेस सभापति थापाले लोकतान्त्रिक मूल्य, विधिको शासन र संस्थागत मर्यादा कायम राख्न राजनीतिक दलहरू सचेत हुनुपर्ने धारणा राखे।







