शिक्षक महासंघले भदौदेखि पुनः देशव्यापी आन्दोलन गर्ने घोषणा

User Image Prime TV News एक महिना अगाडि
Image of शिक्षक महासंघले भदौदेखि पुनः देशव्यापी आन्दोलन गर्ने घोषणा

काठमाडौ । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षा सुधारको माग गर्दै आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

हालै सम्पन्न महासंघको परिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षक नेताहरूले आफ्ना शैक्षिक तथा पेसागत माग पूरा गराउन निर्णायक आन्दोलनमा जाने बताएका हुन्। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा राज्यको लगानी वृद्धि गर्नुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने माग अघि सारे।

महासंघले बाल कक्षा शिक्षक, विद्यालय कर्मचारी तथा सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको व्यवस्था गर्नुपर्ने माग पनि राखेको छ। त्यस्तै, राहत शिक्षक, साबिक उच्च माध्यमिक विद्यालयका अस्थायी तथा करार शिक्षक, विशेष शिक्षा र प्राविधिक धारमा कार्यरत अस्थायी शिक्षकहरूको पेसागत सुरक्षा र स्थायित्व सुनिश्चित गर्नुपर्ने महासंघको माग छ।

महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार स्थायी शिक्षकहरूको आवधिक बढुवा व्यवस्था प्रभावकारी बनाउनुपर्ने, बढुवा अनुपात वृद्धि गर्नुपर्ने तथा निवृत्तिभरणका लागि आवश्यक सेवा अवधि नपुगेका स्थायी शिक्षकलाई सेवा अवधि थप गर्ने व्यवस्था गर्नुपर्ने माग पनि आन्दोलनको मुख्य एजेन्डा हुनेछ।

शिक्षा नियमावलीको १०औँ संशोधनमा गरिएको सरुवा व्यवस्थालाई शिक्षकविरोधी र अव्यावहारिक भन्दै महासंघले त्यसलाई परिमार्जन गरी शिक्षकमैत्री बनाउन माग गरेको छ। साथै, विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती गर्ने प्रयास रोक्न र प्रधानाध्यापकलाई थप अधिकारसहितको प्रशासनिक तथा प्राज्ञिक नेतृत्वकर्ताका रूपमा स्थापित गर्नुपर्ने माग राखिएको छ।

महासंघले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको पेसागत सुरक्षा, उचित सेवा सुविधा, ट्रेड युनियन अधिकारको संरक्षण र शिक्षक पेसाको सामाजिक सम्मान अभिवृद्धिलाई पनि आन्दोलनको एजेन्डामा समेटेको छ। आन्दोलनको मिति, स्वरूप र विस्तृत कार्यक्रम भने पछि सार्वजनिक गरिने महासंघले जनाएको छ।