प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन नेकपाको दबाब

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन नेकपाको दबाब

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभाको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउन सभामुख डोलप्रसाद अर्यालमार्फत रुलिङ गर्न माग गरेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपाका तर्फबाट बोल्दै प्रमुख सचेतक युवराज दुलालले संसद् नियमावलीअनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्री शाहलाई संसद्को प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउन सभामुखले आवश्यक निर्देशन दिनुपर्ने माग गरे।

“सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रो नियमावलीअनुसार सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउन सभामुखमार्फत आह्वान गर्न चाहन्छु,” दुलालले भने। प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था गरिएको छ।

उक्त व्यवस्थाअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नुपर्ने उल्लेख छ। नियमावलीमा सभामुखले समय निर्धारण गर्ने व्यवस्था बाध्यकारी रूपमा राखिएको भए पनि यसको कार्यान्वयन हुन नसकेको भन्दै सांसदहरूले पटक–पटक प्रश्न उठाउँदै आएका छन्।

नियम ५६ अनुसार निर्धारित दिनमा बैठक बस्न नसकेमा त्यसपछि बस्ने पहिलो बैठकको पहिलो एक घण्टामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ। तर हालसम्म उक्त प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै नेकपासहितका सांसदहरूले संसद्को प्रक्रियामाथि ध्यानाकर्षण गराउँदै आएका छन्।