मेडिकल काउन्सिलको विशेष परीक्षामा ९३.४८ प्रतिशत परीक्षार्थी उत्तीर्ण
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल मेडिकल काउन्सिलले गत साउन ७ र ८ गते सञ्चालन गरेको विशेष परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
काउन्सिलका अनुसार परीक्षामा सहभागी १ हजार १३ जना परीक्षार्थीमध्ये ९४७ जना उत्तीर्ण भएका छन्। शुक्रबार सार्वजनिक गरिएको नतिजाअनुसार ६५ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् भने एक जना अनुपस्थित रहेका थिए। परीक्षाको समग्र उत्तीर्ण प्रतिशत ९३.४८ रहेको काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले जानकारी दिए।
देशगत विवरणअनुसार नेपालका मेडिकल तथा डेन्टल कलेजमा अध्ययन गरेका परीक्षार्थीको सफलता दर सबैभन्दा उच्च देखिएको छ। नेपालमा अध्ययन गरेका ९१९ जनामध्ये ९०४ जना अर्थात् ९८.३७ प्रतिशत उत्तीर्ण भएका छन्।
यस्तै, पाकिस्तान र अमेरिकाबाट अध्ययन गरी परीक्षामा सहभागी भएका सबै परीक्षार्थी सफल भएका छन्। भारतबाट सहभागी १७ जनामध्ये १३ जना उत्तीर्ण भएका छन् भने चीनबाट अध्ययन गरेका ३७ जनामध्ये ८ जना मात्र सफल भएका छन्। बेलारुसबाट सहभागी एक जना परीक्षार्थी भने अनुत्तीर्ण भएका छन्।
नेपालभित्रका मेडिकल शिक्षण संस्थाको प्रदर्शन पनि उल्लेखनीय देखिएको छ। काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, नेपाल मेडिकल कलेज, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसलगायत १४ वटा शिक्षण संस्थाका सबै परीक्षार्थी उत्तीर्ण भएका छन्।
त्यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पसबाट सहभागी ८६ जनामध्ये ८४ जना अर्थात् ९७.६७ प्रतिशत र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सहभागी १०२ जनामध्ये ९८ जना अर्थात् ९६.०८ प्रतिशत परीक्षार्थी सफल भएका छन्।
काउन्सिलका अनुसार विषयगत रूपमा पनि अधिकांश विषयमा परीक्षार्थीको नतिजा सकारात्मक देखिएको छ। कुल ३६ वटा विषयमा सञ्चालन गरिएको परीक्षामा धेरैजसो विषयको उत्तीर्ण दर सन्तोषजनक रहेको काउन्सिलले जनाएको छ।







