स्थानीय तह निर्वाचनमा गुटबन्दी गर्ने आकांक्षीलाई कारबाही गर्ने रास्वपाको चेतावनी

User Image Prime TV News एक महिना अगाडि
Image of स्थानीय तह निर्वाचनमा गुटबन्दी गर्ने आकांक्षीलाई कारबाही गर्ने रास्वपाको चेतावनी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा गुटबन्दी, दुष्प्रचार वा पार्टीको आधिकारिक निर्णय प्रक्रियामा अवरोध सिर्जना गर्ने आकांक्षीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

पार्टीले सार्वजनिक गरेको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ मा उम्मेदवार छनोटसम्बन्धी आचारसंहिता तथा दण्ड–सजायका विशेष व्यवस्था समावेश गरिएको छ। रूपरेखाअनुसार उम्मेदवारीको पक्षमा माहोल बनाउन पार्टीको आधिकारिक संयन्त्रबाहिर गुटगत भेला गर्ने, समानान्तर संरचना खडा गर्ने, दबाब समूह बनाउने वा पार्टीको निर्णय प्रक्रियालाई अवरुद्ध गर्ने कार्यलाई गम्भीर अनुशासनहीनता मानिनेछ।

यस्तै, अन्य आकांक्षी, पार्टी संरचना वा मूल्याङ्कन संयन्त्रविरुद्ध सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रामक सूचना फैलाउने, मिथ्या आरोप लगाउने, दुष्प्रचार गर्ने वा चरित्रहत्या गर्ने कार्य पनि अनुशासन उल्लङ्घनको श्रेणीमा राखिएको छ।

रास्वपाले पार्टीभित्रको राजनीतिक प्रतिस्पर्धा स्वस्थ, मर्यादित र विचार–केन्द्रित हुनुपर्ने उल्लेख गर्दै व्यक्तिकेन्द्रित आक्रमण, गुटगत राजनीति र विधिविपरीतका गतिविधिलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट गरेको छ।

यस्ता गतिविधिमा संलग्न उम्मेदवार आकांक्षीको उम्मेदवारी प्रक्रिया तत्काल खारेज गरिने र उनीविरुद्ध पार्टीको अनुशासनसम्बन्धी कारबाही अघि बढाइने व्यवस्था रूपरेखामा गरिएको छ।