देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

User Image Prime TV News एक महिना अगाडि
Image of देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको      सम्भावना

काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। हाल कोशी, मधेश र बागमती प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ।

तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ। बागमतीका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।

कोशी र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति पनि देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले भारी वर्षाका कारण गेग्रानसहितको बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।