कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा आयोजना हुने बताएका छन्।
कांग्रेस काठमाडौं महानगरपालिका–२६ वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तय भएकाले निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुने बताएका हुन्।
उनका अनुसार महाधिवेशनबारे निर्णय गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। उक्त बैठकले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने विषयमा आवश्यक निर्णय गर्ने उनले बताए।
पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने तथा पार्टीभित्र अन्योल सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै महामन्त्री पौडेलले नेता तथा कार्यकर्तालाई त्यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरे।
पार्टी एकता कायम हुने अवस्था आए आफू महामन्त्री पद छाड्नसमेत तयार रहेको उनले बताए। सभापति पार्टीको संस्थागत नेतृत्व भएकाले संस्था व्यक्तिभन्दा माथि रहने उल्लेख गर्दै पौडेलले वरिष्ठ नेताहरूको योगदानको सम्मान गर्नुपर्ने धारणा राखे।
उनले भने, ‘यो पार्टी मिल्छ भने म महामन्त्री अहिले छाड्न तयार छु।’
महामन्त्री पौडेलले कांग्रेस डिजिटल माध्यमबाट सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बन्न सफल भएको दाबी गर्दै अब क्रियाशील सदस्यबाटै स्थानीय तहका उम्मेदवार छनोट गर्ने व्यवस्था गरिने जानकारी दिए।







