मोहन बस्नेतको स्वीकारोक्ति : ‘अन्तर्घात होइन, फागुन २१ मा घात गरेको हुँ’

User Image Prime TV News एक महिना अगाडि
Image of मोहन बस्नेतको स्वीकारोक्ति : ‘अन्तर्घात होइन, फागुन २१ मा घात गरेको हुँ’

काठमाडौ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले फागुन २१ गतेको निर्वाचनमा आफूले पार्टीभित्र ‘अन्तर्घात’ नभई खुलेरै ‘घात’ गरेको बताएका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका बस्नेतले पार्टी सभापति गगन थापालाई लक्षित गर्दै आफूले निर्वाचनमा सहयोग नगरेको कुरा लुकाउनुपर्ने अवस्था नरहेको बताएका हुन्।

उनले भने, ‘मेरा साथीभाइले सबैले सहयोग गरेको हो । मैले के को अन्तर्घात ? खुल्लै घात गरेको हो ।’ पुराना नेताको अनुहार हेरेर मत नआउने धारणा राख्दै आफूलाई पनि पुराना नेताकै समूहमा राखेर टिकट नदिइएको भन्दै उनले त्यसप्रति असन्तुष्टि व्यक्त गरे।

बस्नेतले कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको राजनीतिक योगदानलाई जोड दिँदै देउवाको अनुहारले काम नगर्ने भए गगन थापाको अनुहारले कसरी मत ल्याउने भन्दै प्रश्न गरे।

उनले गगन थापाको निर्वाचन क्षेत्रसमेत निश्चित नभएको दाबी गर्दै निर्वाचन नजिती प्रधानमन्त्री बन्ने कुरा गर्नु उपयुक्त नभएको बताए। थापा महामन्त्री हुँदा नै आफूले उनको आगामी निर्वाचन क्षेत्रबारे प्रश्न उठाउँदै आएको बस्नेतको भनाइ थियो।

बस्नेतले थापालाई ‘चटके’को संज्ञासमेत दिए। उनले थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयबाट राजनीतिक रूपमा ‘चड्कन’ पाइसकेको टिप्पणी गरे।

कांग्रेसको सभापति चयनसम्बन्धी प्रक्रियामाथि प्रश्न उठिरहेको दाबी गर्दै बस्नेतले पार्टी पुरानै अवस्थामा फर्किएको बताएका छन्। उनले अब कांग्रेसको सभापति शेरबहादुर देउवा नै हुने दाबीसमेत गरे।

बस्नेतको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्वको विषयमा थप राजनीतिक बहस चर्काउने संकेत गरेको छ।