देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ : रास्वपा महामन्त्री आचार्य

User Image Prime TV News एक महिना अगाडि
Image of देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ : रास्वपा महामन्त्री आचार्य

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन कुमार आचार्यले देश निर्माणका लागि कुनै एक व्यक्ति वा सीमित जनप्रतिनिधिले मात्रै सम्भव नहुने बताएका छन्।

रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टी कार्यक्रममा बोल्दै आचार्यले देश निर्माणका लागि सबै पक्षको साथ र समन्वय आवश्यक रहेको बताएका हुन्।

‘देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन,’ उनले भने, ‘देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ।’

स्थानीय तह र प्रदेशको निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै आचार्यले आगामी निर्वाचनमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको सक्रिय सहयोग आवश्यक पर्ने बताए।

उनले रास्वपाका नेता तथा कार्यकर्तालाई पुराना राजनीतिक दल र तिनमा आबद्ध व्यक्तिलाई गाली गरेरभन्दा आफ्नो काममार्फत जवाफ दिन आग्रह गरे।

रास्वपामा पुराना दलबाट पनि धेरै व्यक्ति प्रवेश गरेको स्वीकार गर्दै नवप्रवेशीलाई चित्त दुख्ने गरी टिप्पणी वा आलोचना नगर्न उनले आग्रह गरे।

पुराना दलबाट आएका व्यक्तिमध्ये केही गलत व्यक्ति भए पनि सबैलाई मिलाएर अघि बढ्नुपर्ने धारणा राख्दै आचार्यले भने, ‘सबै जना मिलेर यो देश बनाउने हो।’

उनले पार्टीका सांसदहरूलाई आवश्यक पर्दा संरक्षण गर्ने तर उनीहरूले गलत काम गरे प्रश्न उठाउने जिम्मेवारी पनि नेता तथा कार्यकर्ताको रहेको बताए। आचार्यले पार्टीभित्र आलोचना र जवाफदेहिताको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए।