‘अग्रगामी मोर्चा’ घोषणा, सामाजिक न्याय र संविधान संशोधनको एजेन्डा अघि सारियो
Prime TV News एक महिना अगाडि काठमाडौ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवसहित विभिन्न राजनीतिक दलका नेताहरूले ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेताहरूले मुलुकमा बढ्दो राजनीतिक, आर्थिक तथा सामाजिक संकटको निकासका लागि साझा मोर्चा आवश्यक भएको बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राज्यका शक्ति र निर्णय प्रक्रिया एकै ठाउँमा केन्द्रित हुँदा सर्वसत्तावाद तथा अधिनायकवाद मौलाउने खतरा बढेको टिप्पणी गरे। उनले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकेको दाबी गर्दै संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धिमाथि प्रहार भइरहेको आरोप लगाए।
विगतका जनआन्दोलन, मधेस आन्दोलन तथा आदिवासी जनजाति र थारु आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि मोर्चा गठन गरिएको यादवले स्पष्ट पारे। संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिका लागि अग्रगामी राजनीतिक निकास आवश्यक रहेको बताए।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकलाई अन्त्यहीन संकटबाट निकाल्न नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताए।
उनले मोर्चा सत्ता प्राप्ति वा पद बाँडफाँडका लागि नभई देशलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउन गठन गरिएको दाबी गरे। हिमाल, पहाड र मधेसलाई जोड्ने साझा राजनीतिक प्लेटफर्मका रूपमा मोर्चालाई अघि बढाउने उनको भनाइ थियो।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि मोर्चा सत्ताका लागि नभई संघर्ष र अधिकारका लागि गठन भएको बताए। देश संकटमा पर्दा विगतमा पनि राजनीतिक शक्तिहरू एकीकृत भएको स्मरण गर्दै उनले विगतका कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाए।
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिको रक्षाका लागि मोर्चाले सशक्त भूमिका खेल्ने बताए। उनले गरिब, सुकुम्बासी, मजदुर तथा उत्पीडित समुदायको पक्षमा सडक र सदन दुवैबाट आवाज उठाउने प्रतिबद्धता जनाए।
परियारले वर्तमान सरकार जनभावनाविपरीत रहेको आरोप लगाउँदै लोकतान्त्रिक उपलब्धिमाथि आक्रमण भए त्यसको प्रतिवाद गर्ने चेतावनी दिए। उनले मधेस र पहाडबीच केवल सद्भाव नभई समान व्यवहार अर्थात् ‘समभाव’ आवश्यक रहेको बताए।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको टिप्पणी गरे। उनले राजनीतिमा सत्ता र नेतृत्वका लागि विभिन्न चुनौती सामना गर्नुपर्ने उल्लेख गर्दै यसलाई ‘डर्टी गेम’को संज्ञा दिए।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाए। उनले सुशासन, रोजगारी र सेवा प्रवाहका विषयमा सरकार असफल भएको दाबी गर्दै नागरिकमाथि करको भार बढाइएको बताए।
देश निर्माणमा आफूहरू सरकारका बाधक नभई सहयोगी बन्न तयार रहेको उल्लेख गर्दै चौधरीले आफ्ना माग र सुझावलाई बेवास्ता नगर्न सरकारलाई आग्रह गरे। जनताको आवाज नसुनिए आन्दोलनको स्वरूप क्रमशः बदलिन सक्ने चेतावनीसमेत उनले दिए।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक इतिहासकै संकटपूर्ण अवस्थामा पुगेको दाबी गर्दै साझा अभियानका रूपमा मोर्चा गठन गरिएको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, सामाजिक न्याय कायम गर्ने, विभेद तथा छुवाछूत अन्त्य गर्ने र आर्थिक–सामाजिक विकासलाई अघि बढाउने मोर्चाको उद्देश्य रहेको बताए।
शर्माले बहिष्करणमा परेका समुदायका अधिकार सुनिश्चित गर्न संविधान संशोधन तथा पुनर्लेखनको आवश्यकता औँल्याए। युवाका लागि सीपमूलक स्वरोजगार कार्यक्रम, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कल्याणकारी राज्यको अवधारणा र वास्तविक सुकुम्बासीको समस्या समाधान गर्ने विषयलाई मोर्चाको एजेन्डामा समेटिएको उनले जानकारी दिए।
मोर्चाको अवधारणापत्रअनुसार यसको संगठन जिल्ला र प्रदेश तहसम्म विस्तार गरिनेछ। आवश्यकताअनुसार भ्रातृ संगठनसमेत गठन गर्ने तथा सामूहिक निर्णय प्रणाली अपनाउने व्यवस्था गरिएको छ।
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गर्न तथा संविधानलाई पूर्णता दिन मोर्चा गठन गरिएको बताए। उनले नेपालको राजनीतिक परिवर्तन विगतका दलहरूको संघर्षबाट सम्भव भएको भन्दै नयाँ शक्तिहरूले इतिहासलाई बेवास्ता गर्न नहुने धारणा राखे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता थियो। नेताहरूले मोर्चालाई तत्कालीन सत्ता समीकरणभन्दा माथि उठेर सामाजिक न्याय, सुशासन, संविधान संशोधन, समावेशिता र आर्थिक समृद्धिको साझा अभियानका रूपमा अघि बढाउने बताएका छन्।







