लियोनल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीका पिता तथा लामो समयका एजेन्ट जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।
जर्जको लामो समयदेखि स्वास्थ्य समस्या रहेको थियो। उनको अर्जेन्टिनाको रोसारियोस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जर्ज मेसी लियोनल मेसीका पिता मात्र नभई उनको व्यावसायिक करिअरका महत्वपूर्ण व्यक्ति पनि थिए। मेसीको बाल्यकालदेखि नै उनले छोराको फुटबल यात्रामा साथ दिएका थिए। मेसी १३ वर्षको उमेरमा स्पेन गएर बार्सिलोनाको युवा टोलीमा आबद्ध हुँदा पनि जर्ज उनीसँगै स्पेन पुगेका थिए।
मेसीलाई बाल्यकालमा वृद्धि हर्मोनको कमीसम्बन्धी उपचार आवश्यक पर्दा त्यसको व्यवस्थापनमा जर्जले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसपछि पनि उनले मेसीको सम्झौता, क्लब स्थानान्तरण तथा अन्य व्यावसायिक विषय व्यवस्थापनमा लामो समयसम्म साथ दिएका थिए। जर्ज मेसीले छोराको एजेन्टका रूपमा समेत काम गरेका थिए।
पछिल्लो समय जर्जको स्वास्थ्य अवस्था कमजोर बनेको थियो। सन् २०२६ को विश्वकपका क्रममा उनको स्वास्थ्यबारे परिवारले जानकारी दिएको थियो। त्यतिबेला उनी उपचाररत रहेको पुष्टि भएको थियो।
सार्वजनिक जीवनमा जर्ज तुलनात्मक रूपमा कम देखिन्थे। उनी पर्दापछाडि रहेर मेसीको व्यावसायिक तथा व्यक्तिगत यात्रामा निरन्तर सहयोग गर्दै आएका थिए।
मेसीको बाल्यकालदेखि नै उनको फुटबल यात्रामा सबैभन्दा नजिक रहेर साथ दिएका जर्जको निधनले अर्जेन्टिनाका सुपरस्टार मेसीलाई गहिरो पितृशोकमा पारेको छ।







