आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षा हुनसक्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मनसुनी प्रभावका कारण अहिले देशभर साधारणतया बदली रहेको छ।
बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने पूर्वानुमान छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, मधेस र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।
रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग तथा बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षा हुने सम्भावित क्षेत्रमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।







