राजनीतिक उतारचढावबाट नआत्तिनुस्, सरकारलाई सही गन्तव्यमा पुर्याउँछौँ : रवि लामिछाने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरणमा देखिएका सानातिना उतारचढावबाट नआत्तिन आग्रह गर्दै सरकारलाई सही बाटोमा डोर्याएर गन्तव्यमा पुर्याउने दाबी गरेका छन्।
शनिबार साँझ काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले राजनीतिक परिस्थितिलाई हवाई यात्राको उदाहरण दिँदै कहिलेकाहीँ आउने अस्थायी समस्याबाट डराउन नहुने बताए।
‘यात्राका क्रममा कहिलेकाहीँ मौसमका कारण टर्ब्युलेन्स आउन सक्छ, तर जहाज हल्लियो भन्दैमा दुर्घटना हुन्छ भनेर डराउनु पर्दैन । सिट बेल्ट बाँधेर ढुक्क हुनुहोस्, हामी सही नियतका साथ देशरूपी यो जहाजलाई सुरक्षित गन्तव्यमा पुर्याउँछौँ,’ उनले भने।
सरकारको कामकारबाही र राजनीतिक चर्चाबारे बजारमा फैलिएका अस्थिरताका हल्लालाई गम्भीर रूपमा नलिन आग्रह गर्दै लामिछानेले त्यसलाई ‘विकेन्ड स्न्याक्स’का रूपमा लिनुपर्ने टिप्पणी गरे।
विगतका नेतृत्वलाई दोष दिएर जिम्मेवारीबाट उम्किने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै उनले अबको सम्पूर्ण जिम्मेवारी र उत्तरदायित्व नयाँ पुस्ताका युवा नेतृत्वले लिने बताए।
निजी क्षेत्रमा देखिएको अन्योलता र त्रासप्रति पनि लामिछानेले चासो व्यक्त गरे। उनले व्यवसायीलाई आतङ्कित पारेर आर्थिक गतिविधि सञ्चालन हुन नसक्ने भन्दै कानुन उल्लंघनका घटना भए त्यसलाई आर्थिक अपराधका रूपमा हेर्नुपर्ने धारणा राखे।
‘व्यापार व्यवसाय गर्दा केही कानुन परिपालनमा कमजोरी भएका भए तिनलाई आर्थिक अपराधका रूपमा हेरिनुपर्छ, अन्य अपराधी जसरी समात्ने वा थुन्ने त्रासमा व्यवसायीले काम गर्न सक्दैनन्,’ उनले भने।
सरकारले आफ्ना प्रतिबद्धताअनुसार काम गर्न नसके वा बाटो बिराए आफ्नै पार्टीले सरकारलाई पुनः सही बाटोमा ल्याउन सक्ने लामिछानेले दाबी गरे।
सरकार गठन भएको चार महिना मात्रै भएकाले यसको कामको मूल्याङ्कन गर्न पर्याप्त समय नभएको उल्लेख गर्दै उनले प्राप्त सुझाव र सल्लाहलाई आत्मसात् गरेर सरकार अघि बढ्ने प्रतिबद्धता जनाए।







